सुकेधारा बिस्फोटमा घाइते श्रेष्ठको उपचारको क्रममा मृत्यु

74

काठमाडौं । गत जेठ १३ गते विप्लव नेतृत्वको नेकपाले आव्हवान गरेको नेपाल बन्दको पुर्वसंन्ध्यामा भएको सुकेधारा बम बिस्पोटका घाइते रामकुमार श्रेष्ठको उपचारको क्रममा ओम हस्पिटलमा आज मृत्यु भएको छ ।

ओम अस्पतालको आइसियुमा उपचार गराईरहेका रामेछाप मन्थली नगरपालिका वडा नं ४ निवासी श्रेष्ठको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

गत जेष्ठ १२ गते सुकेधारास्थित पुल नजिकै एउटा सैलुन पसलमा शक्तिशाली बम बिस्पोट भएको थियो । बिस्पोटमा परि दाङका गोकुल रानामगर महान, कालिकोटका दिपेन्द्र बिक र बाग्लुङका निरन्तर मल्लको ज्यान गएको थियो । उक्त विस्फोटमा परि केहि घाइते भएका थिए ।

शुरुमा घाइतेहरुको पहिचान नखुले पनि तत्काल उपचार गरिहाल्नु पर्ने भएकाले अस्पतालमा घाइतेहरुलाई एक्स, वाई र जेट नाम दिएर उपचार थालिएको थियो । एक्स नाम दिएका रामेछापका श्रेष्ठको मृत्यु भएको हो । वाई र जेट नाम दिइएका ब्यक्ति सुरेन्द्र महर्जन र हरि खड्काको भने ओम अस्पतालमानै उपचार भइरहेको छ ।

उनीहरुको बमको छर्राले टाउको, छात्ती र खुट्टामा गम्भीर चोट छ । जेठ १२ गतेदेखि नै रामकुमार सम्पर्कमा नआएपछि उनका आफन्त अस्पताल श्रोतको सुचनाका आधारमा ओम अस्पताल पुगेका थिए । रामकुमारसहित सुरेन्द्र र हरिको ओम अस्पतालले अहिलेसम्म निशुल्क उपचार गरिरहेको थियो ।

Comments are closed, but trackbacks and pingbacks are open.