पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार

61

काठमाडौं– बिरामीको उपचारका क्रममा मृत्यु भएको विषयलाई लिएर बिरामीका आफन्तले शुक्रबार चावहिलस्थित ओम अस्पतालमा तोडफोड गरेका छन् । प्रदर्शनमा उत्रिएकाहरुले हानेको इँटा लागेर अस्पतालका केही सीसा फुटेको छन् ।

पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि बिरामीका आफन्त आक्रोशित बनेका हुन् । आक्रोशित भिडलाई नियन्त्रणमा लिन खोज्दा शुक्रबारअस्पताल परिसरमा झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसँगै अश्रुग्यास समेत प्रहार गरेको हो ।

शुक्रबार साँझ मृतकका आफन्तले अस्पतालको चरम लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरे । अस्पतालका सिसा तोडफोडपछि प्रहरीले लाठी चार्ज गर्दै प्रदर्शनकारीलाई तितरवितर पारेको हो । झडपमा बिरामीका केही आफन्त घाइते भएका छन् । झडपमा एक बच्चा गम्भीर घाइते भएको र उनलाई मेडिकेयर अस्पताल लगिएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान उपचारका क्रममा निधन भएको थियो ।उनको निधनकाे विषयमा आन्दोलनपक्ष र अस्पताल प्रशासनबीच वार्ता भए पनि सहमति भएको छैन । अस्पतालले घटनामा लापरवाही नभएको दाबी गर्दै आएको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.