समाचार प्रभाव : आमाले ‘अब मलाई पनि भेट्दैन होला’ भनेपछि मलेसियाबाट फर्किए रामप्रवेश

93

सर्लाही – मलेसिया गएर सम्पर्कविहीन भएका सर्लाहीको बरथहवा–१३ का रामप्रवेश यादव घर फर्किनुभएको छ । मलेसिया गएको दुई वर्षपछि परिवारसँग सम्पर्कविहीन भएका रामप्रवेश उज्यालो अनलाइनमा आमाको पीडासहितको खबर प्रकाशित भएपछि घर फर्किनुभएको छ ।

गएको वैशाख २९ गते उज्यालो अनलाइनमा रामप्रवेशकी आमाले मलेसिया गएको छोरा उतै सम्पर्कविहीन भएकाले आफ्नो अनुहार देख्न पाउँदैन होला भन्दै गुनासो गरेको खबर प्रकाशित भएको थियो ।खबर प्रकाशित भएको भोलि पल्ट रामप्रवेश काम गर्ने कम्पनीका ‘म्यानेजर’ ले देखेपछि उहाँलाई घर जान भनेका थिए । म्यानेजरले ‘घर गइनस भने आमाको मुख देख्न नपाउलास’ भनेपछि आफू घर फर्किएका रामप्रवेशको भनाई छ ।

रामप्रवेशले आफूसँग पैसा नभएकाले सँगै काम गर्ने साथीहरुले टिकट काटेर घर फर्किन सघाएको बताउनुभयो ।

घरजम गरिदिएपछि म मरे पनि केही हुन्न : कलावतीदेवी
बुवाको निधन हुँदा पनि नफर्किएको छोराले आफ्नो पनि लास भेट्दैन कि भन्ने चिन्ता थियो ६५ वर्ष पुग्दै गरेकी रामप्रवेशकी आमा कलावतीदेवीलाई । तर समाचारले गर्दा छोरा घर आइपुगेपछि उहाँको खुशीको सीमा छैन ।

‘तपाईंहरुले समाचार लेखिदिएकाले मेरो छोरा सकुसल घर आईपुग्यो त्यो भन्दा बढि के चाहियो र ?’ कलावतीले आइतबार दिउँसो भन्नुभयो, हात खुट्टा बलिया छँदैछन । यति भएपछि अब यतै कमाएर खान सकिहाल्छ नी ।’

छोरा हराउँदा चिन्ताले थलिएकी कलावतीदेवीलाई अब छोराको बिहे गरिदिने रहर छ । ‘बिहे गरिदिन पाए त सास गए पनि केही छैन’ कलावतीदेवीले भन्नुभयो । रामप्रवेशका बुवा महेन्द्र पनि यही चाहनुहुन्थ्यो ।

तर कमाउन गएका रामप्रवेशले उहाँलाई नै बिर्सिदिएपछि उहाँको त्यो चाहना पुरा भएन । छोरा सम्पर्कविहीन भएकै बेला उहाँ बित्नुभयो । तर कलावतीदेवी अब श्रीमानको त्यो सपना पुरा गरिदिने सोचमा हुनुहुन्छ ।

Comments are closed, but trackbacks and pingbacks are open.