खुशीको खबर! कतारमा हुने बिश्वकप छनोट खेलमा नेपाल सिधै दोस्रो चरणमा खेल्न पाउने

204

काठमाडौं। सन् २०२२ मा हुने कतार विश्वकप फुटबलको छनौट खेलमा नेपालले सोझै दोस्रो चरणमा प्रवेश पाउने भएको छ । नेपाली टोली एसिया वरीयतामा ३४औं स्थानमा परेपछि नेपालले विश्वकप छनौटको दोस्रो चरणमा प्रवेश पाएको हो ।

एसियाली फुटबल महासंघ (एएफसी) ले सन् २०२२ को विश्वकप र २०२३ को एसिया कपका लागि टिमको छनौट गरेको हो । सोहीअनुसार महासंघले नेपाललाई सोझै छनौटको दोस्रो चरणमा लैजाने निर्णय गरेको हो । नेपाल विश्वभरिमा फिफा वरीयतामा १६१औं स्थानमा छ । यो अप्रिल महिनाको वरीयता हो । यही वरीयताका आधारमा नेपालले दोस्रो चरण खेल्ने भएको हो ।

त्यसैगरी, दक्षिण एसियाका भारत र माल्दिभ्सले पनि विश्वकप छनौटमा सोझै दोस्रो चरणमा खेल्नेछन् । तर, भुटान, बंगलादेश, पाकिस्तान र श्रीलंकाले भने विश्वकपको पहिलो चरणबाटै खेल्नुपर्ने भएको छ । प्रावधानअनुसार विश्वकपको पहिलो चरणमा एसियन वरीयतामा ३५ देखि ४६औं वरीयतामा पर्ने १२ टिमले खेल्छन् । छनौट खेल होम एन्ड अवे आधारमा हुन्छ । जसमा पहिलो चरणको विजेता ६ टिम दोस्रो चरणमा जान पाउँछन् ।

यता, दोस्रो चरणमा एसिया वरीयताको शीर्ष ३४ परेका टिम र पहिलो चरणबाट छानिएका ६ टिम गरी ४० टिमले भिडन्त गर्नेछन् । जसमा कूल ४० देशलाई विभिन्न ८ समूहमा राखेर ५–५ टिमको समूह बनाइन्छ । जहाँ हरेक समूहबाट समूह विजेता र उत्कृष्ट समूह उपविजेता गरी १२ टिमले विश्वकप छनौटको तेस्रो चरणमा पुग्नेछन् । त्यरी छानिएका १२ टिमले नै एसिया कपसमेत खेल्न पाउँछन् ।

खेलतालिका अनुसार विश्वकप छनौटअन्तर्गत पहिलो चरणका खेल आगामी जुन ६ देखि ११ तारिखसम्म हुनेछन् । दोस्रो चरणका खेल भने २०१९ को सेप्टेम्बर ५ देखि २०२० को जुन ९ सम्म चल्नेछन् ।Dcnepal बाट साभार

Comments are closed, but trackbacks and pingbacks are open.