विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिए, प्रकाण्डको पाए जिम्मेवारी

75

काठमाडौं– विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् । हाल सो जिम्मेवारीमा रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेसँगै पार्टीले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई सो जिम्मेवारी दिएको हो ।

यसअघि प्रकाण्ड प्रवक्ताको जिम्मेवारी रहेको बताइएपनि केही महिनायता उनको नाममा पार्टीको औपचारिक विज्ञप्ति आउने गरेको थिएन ।

प्रहरीबाट पक्राउ परेपछि पार्टीका केही गोप्य दस्तावेज बाहिरिएको भन्दै उनलाई जिम्मेवारविहीन बनाइएको समेत हल्ला चलेको भएपनि विप्लवले त्यसको विज्ञप्तिमार्फत खण्डन गरेका थिए ।

यता मध्य कमाण्ड इन्चार्जको भूमिकामा रहेका सुदर्शन चैत पहिलो साता काभ्रेबाट पक्राउ परेका छन् ।सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै सुदर्शन पक्राउ पर्ने उच्चस्तरीय नेता हुन् ।उनको पार्टीमा विप्लव र प्रकाण्डपछि दोस्रो वरियता रहेको छ ।

प्रदेशसभा भवन अगाडि बम विस्फोट, एक सैनिक घाइते

कास्कीको पोखरास्थित गण्डकी प्रदेशसभा भवन अगाडि बम विस्फोट हुँदा एक सैनिक घाइते भएका छन् । प्रदेशसभा भवनअगाडि बम भेटिएको खबरसँगै सेना पुगेर डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा धर्मबहादुर थापा घाइते भएका हुन् । उनको हातमा चोट लागेको बताइएको छ ।

यसैबीच पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि शंकास्पद वस्तु भेटिएको छ । उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले डिस्पोज गरेको छ । विप्लव समूहको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ भने सो क्रममा विभिन्न स्थानमा बम फेला परेको हो ।

Comments are closed, but trackbacks and pingbacks are open.